
३ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । सातौँ संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् ।
मुलुकको अग्रगामी परिवर्तनका लागि अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोरेका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण गरेका छन् । साथै, उनले प्राकृतिक विपद् र कोभिड–१९ को महामारीबाट अकालमा ज्यान गुमाउन पुगेका दिदीबहिनी तथा दाजुभाइ्लगायत सबैमा श्रद्धासुमन व्यक्त गरेका छन् ।
नेपाली कांगे्रसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट वि.सं. २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
“कांग्रेसको नेतृत्वमा सबै दल तथा नागरिकको सहयोगमा मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भई संविधान कार्यान्वयन गरेको सर्वविदितै छ । यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ,” शुभकामना सन्देशमा उल्लेख छ ।
चैतभित्र सबै नेपालीलाई पूर्ण खोप लगाउनु सरकारको मुख्य लक्ष्य
प्रधानमन्त्री देउवाले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट नेपाली नागरिकको जीवनरक्षा गर्न आगामी चैत मसान्तभित्र सबै नेपाली नागरिकलाई पूर्ण खोप लगाउनु वर्तमान सरकारको मुख्य लक्ष्य रहेको दोहो¥याएका छन् ।
साथै, उनले स्वास्थ्यका मापदण्डको पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका साथ कोभिड–१९ महामारीको सामना गर्न संविधान दिवसको अवसरमा सबैलाई आग्रह गरेका छन् । संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको प्रधानमन्त्री देउवाको भनाइ छ ।