
५ असोज, काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनी यती एयरलाइन्स २४ वर्षमा प्रवेश गरेको छ । सन् १९९८ सेप्टेम्बर २१ मा पहिलो उडान गरेको यतीले सोही दिनलाई वार्षिकोत्सवको रूपमा मनाउँदै आएको छ ।
नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यती एयरलाइन्सले आफ्नो भगिनीसंस्था तारा एयरसहित २३ वर्षदेखि नेपाली आकाशमा सेवा प्रदान गर्दै आएको छ । स्थापनाको सुरुवाती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधि, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले बताए ।
“यती एयरलाइन्स र तारा एयरका साहसी पाइलट एवं आत्मविश्वासी चालकदल, दक्ष प्राविधिक, तालिमप्राप्त कर्मठ कर्मचारी, साझेदार संघ–संस्थाहरूको लगन, मिहिनेत, इमानदारी तथा यात्रुहरूको विश्वासले यती एयरलाइन्सले गौरवमय २३ वर्षे इतिहास पूरा गर्न सफल भएको हो । यसका लागी हामी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दर्छौँ,” उनले भने ।
२४ वर्षे यात्रासँगै यतीले जेटस्ट्रिम युगको पूर्ण रूपले अन्त्य गरी एटीआर युगमा प्रवेश गरेको छ । हालै यतीले आफूसँग रहेका पाँच विमान बिक्री गरेको हो । यती एअरलाइन्सले २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ ।
एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडादर, झन्झटरहित यात्रा, गुणस्तरीय सेवा र यात्रुहरूलाई पहिलो प्राथमिकतामा राखी उडान गरेको कारण यती एयरलाइन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाइमा पर्न सफल भएको बताए ।
“बिरामी, अपांगता वा फरक क्षमता भएका यात्रु महानुभाव, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखी सुरक्षित रूपमा गन्तव्यमा पुर्याई सन्तुष्ट सेवा प्रदान गर्दै आएका छौँ,” उनले भने । यती एयरलाइन्स नेपालको पहिलो र एक मात्र कार्बन न्युट्रल एयरलाइन्स हो । वातावरण संरक्षणमा यती एयरलाइन्स उत्तिकै संवेदनशील र सक्रिय रहेको प्रवक्ता बर्तौलाको भनाइ छ ।
यतीले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न निकायहरूको सहकार्यमा सगरमाथा सफाइ अभियानमार्फत् सगरमाथालगायत खुम्बु क्षेत्रबाट हालसम्म करिब १०० टन फोहोर यअरलिफ्ट गरिसकेको जनाएको छ । यस्तै, विभिन्न जिल्लमा दुई लाख ७२ हजार ६०० वटा बिरुवा वृक्षरोपण गरिसकेको छ । वायुयानभित्र प्लास्टिक कपको सट्टा पेपर कप प्रयोगमा ल्याएको, विद्युतीय सवारीसाधनलाई प्राथामिकताका साथ प्रयोगमा ल्याएको कम्पनीले जनाएको छ ।
यतीले हाल पाँचवटा एटीआर विमानमार्फत नेपालगन्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनीसंस्था तारा एयरको चारवटा ‘ट्वीन–अटर’ विमानमार्फत दुर्गम हिमाली तथा पहाडी भागहरू लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुराजस्ता विमानस्थलमा सेवा दिँदै आएको छ ।