७ असोज, काठमाडौं । भारतले आगामी अक्टोबर देखि नै कोभिडका खोप पुनः निर्यात गर्न सुरु गर्ने स्वास्थ्य मन्त्रीले बताएका छन् । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक भएपनि अप्रिलदेखि भारतले स्वदेशी मागलाई प्राथमिकतामा राख्न भनेर खोप निर्यातमा रोक लगाएको थियो ।
प्रधानमन्त्री मोदी मंगलबार अन्तर्राष्ट्रिय सम्मेलनका लागि वासिङटन गएकै बेला पारेर यस्तो घोषणा गरिएको छ । उक्त सम्मेलनमा खोपको निर्यात सम्बन्धी पनि छलफल गरिने बताइएको छ ।
स्वास्थ्य मन्त्री मनसुख मन्दाभियाका अनुसार भारतका खोप निर्माताहरुले अक्टोबरमा मात्र ३० करोड डोज उत्पादन गर्ने अपेक्षा रहेको छ । यही उत्पादन देशभर वितरण गरिए पश्चात् बाँकी भएको सम्पूर्ण खोप कोभिड–१९ विरुद्ध लड्न अन्य मुलुकहरुलाई पठाइने उनले बताए ।
सोमबार उनले संचारकर्मीहरुसँग बोल्दै भनेका हुन्, “हामी कोभ्याक्स कार्यक्रम मार्फत आफ्ना जिम्मेवारीहरु पूरा गर्दै विश्वलाई मद्दत गर्नेछौँ । ” सरकारले यो महिना पनि स्वदेशी खोप उत्पादकबाट २६ करोड डोज प्राप्त गर्ने अपेक्षा रहेको उनले बताएका हुन् ।
भारतले २०२१ को अन्त्यसम्ममा आफ्ना सम्पूर्ण वयश्क जनसङ्ख्यामा खोप लगाइसक्ने लक्ष्य राखेको छ । खोप निर्यातमा प्रतिबन्ध लगाउनु अगाडि भारतले विश्वव्यापी रुपमा ६ करोड भन्दा धेरै डोज ७६ देशलाई पठाएको थियो जसमध्ये अधिकांश अक्सफोर्ड–एस्ट्राजेनेकाको कोभिसिल्ड खोप रहेको थियो । बीबीसी