
७ असोज, काठमाडौं । डिजिटल करेन्सी ‘बिटकोइन माइनिङ’ गर्दा तुलनात्मक रुपमा अत्याधिक धेरै विद्युतीय उपकरणजन्य फोहोर निस्कने रिसर्चले देखाएको छ ।
क्रिप्टोकरेन्सी उत्पादन गर्ने ‘माइनर’ हरुले हरेक वर्ष ३० हजार ७०० टन भन्दा बढी विद्युतीय उपकरणको फोहोर निकाल्ने गरेको यसमा पत्ता लागेको छ । यो भनेको औसतमा पनि एकपटक बिटकोइनको कारोबार गर्दा २७२ ग्रामको फोहोर हुन्छ । तुलना गर्नुपर्दा आइफोन–१३ को तौल १७३ ग्राम हुन्छ ।
माइनरहरुले नयाँ बिटकोइन उत्पादन गरि पैसा कमाउने गर्दछन् तर उनीहरुले यस प्रक्रियाका लागि प्रयोग गर्ने कम्प्युटरले एकदमै धेरै मात्रामा ऊर्जा खपत गर्दछ । यसले प्रयोग गर्ने विजुली पूरै फिलिपिन्समा भन्दा धेरै हुन्छ । यसका साथै माइनिङमा प्रयोग भएका कम्प्युटरका विभिन्न पाटपूर्जा बिग्रिने हुँदा त्यसले पनि धेरै विद्युतीय फोहोर उत्पन्न गराउँछ ।
अनुसन्धानकर्ताहरुका अनुसार बिटकोइन माइनिङ गर्ने उपकरणको अधिकतम आयु भनेको १.२९ वर्ष हुन्छ । त्यो भन्दा लामो समयसम्म प्रायः डिभाइसले काम गर्न छाड्छन् । त्यसैले पनि यसबाट उत्पन्न उपकरणजन्य फोहोर पूरै नेदरल्यान्ड भरिको प्राविधिक फोहोर भन्दा बढी हुन्छ । यसमा मोबाइल फोनदेखि कम्प्युटर, प्रिन्टर र टेलिफोन पनि पर्दछन् ।
बिटकोइन माइनिङ गर्नेहरुका लागि विजुली सबैभन्दा मूल्यवान् हुन्छ । त्यसैले उनीहरु प्रभावकारी प्रोसेसरहरु खोज्ने गर्छन् । यसमा सबैभन्दा धेरै प्रयोगमा आउने भनेको अत्याधुनिक चिप, “एप्लिकेसन–स्पेसिफिक इन्टिग्रेटेड सर्किट (एएसआइसीएस) हो ।
तर यही चिपको एउटा नकारात्मक पक्ष के छ भने एकपटक बिग्रिसकेपछि या यसको क्षमता पूरा भइसकेपछि अर्को कामका लागि या अर्को क्रिप्टोकरेन्सी माइनिङ अल्गोरिदमका लागि प्रयोग गर्न मिल्दैन । त्यसैले पनि चिपहरुको पुनः प्रयोग गर्न नसकिने हुँदा धेरै मात्रामा फोहोर उत्पन्न भइ खेर जाने गर्दछन् ।
यता पछिल्लो समय प्राविधिक उद्योगहरु विश्वव्यापी चिप अभावको मारमा पनि परेका छन् । त्यसैले फोहोर उत्पदान गर्नुका साथै बिटकोइन माइनिङमा खपत हुने चिप लगायत पूर्जाको विश्वव्यापी आपूर्तिमा समेत अवरोध पुर्याउने खोजकर्ताहरु बताउँछन् । यसले अप्रत्यक्ष रुपमा अन्य प्राविधिक डिभाइसको उत्पादन र आपूर्तिलाई प्रभाव पार्नेछ ।