७ असोज, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरी ‘यात्रु सहायता कक्ष’ संचालनमा ल्याएको छ । काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कमा स्थापना भएको यात्रु सहायता कक्षबाट सेवा दिन सुरु गरिएको हो ।
‘‘टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गर्ने योजना स्वरूप नयाँ बसपार्कमा कक्ष स्थापना गरि सुरु गरेका हौँ,” महानगरिय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले भने, ‘‘यात्रुका गुनासोहरू सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यका साथ कक्ष सुरु गरेका हौँ ।”
एसएसपी भट्राईका अनुसार दसैँ मान्न उपत्यका छाडी आ–आफ्नो थातथलो फर्किने यात्रुहरूलाई बढी भाडा लिने, यात्रु ठगी गर्ने, टिकट लगायत अन्य यातायात सम्बन्धी समस्याहरूलाई सहजता दिलाउन कक्षले काम गर्नेछ ।
महाशाखाले उपत्यकामा टिकट काउन्टर रहेका र यात्रुको बढी भीडभाड हुने १४ स्थानमा कक्ष स्थापना गर्नेछ । आजबाट नयाँ बसपार्क, गौशाला, बल्खु र कोटेश्वरमा कक्ष शुरु भएको छ । आइतबारसम्म सातदोबाटो, कलंकी, नागढुङ्गा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाती, सुन्धारा, रत्नपार्क र फर्पिङ्गमा कक्ष राखी संचालनमा ल्याईने जानकारी महाशाखाले दिएको छ ।