समाचार

‘तत्काल मनसुन बाहिरिने सम्भावना छैन’

cloudy weather

९ असोज, काठमाडौं । अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिलेको अवस्थालाई हेर्दा मनसुन तत्काल बाहिरिने सम्भावना नरहेको विभागका मौसमविद् गंगा नगरकोटीले बताइन् । उनका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम रोकिनुपर्छ ।

“अहिले त्यस्तो अवस्था रहेको छैन । त्यसैले तत्काल मनसुन बाहिने सम्भावना छैन,” मौसमविद् नगरकोटीले भनिन् । यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यसपालिदेखि मनसुनको अवधि परिमार्जन गरिएको छ । यसअघि, सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो । यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने मिति तोकिएको छ । यसपालि नेपालमा मनसुन औसत समयभन्दा दुई दिन अगाडि भित्रिएको थियो । मौसमविद्का अनुसार हरेक १०–१० वर्षमा मनसुन भित्रने र बाहिरिने समय परिमार्जन गरिन्छ ।

आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९.३ डिग्री र अधिकतम तापक्रम ३०.५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४.३ डिग्री र सबैभन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३४.६ डिग्री सेल्सियस रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस