
१३ असोज, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २६६५ अंकमा कायम भएको छ । यस दिन परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ ।
हिजो ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब २ करोडमा सीमित भएको छ । यस दिन ९८ लाख ९४ हजार कित्ता धितोपत्र कारोबार भयो । सबै समूह हरियो बनेका छन् । बैंकिङ २०, विकास बैंक १५०, फाइनान्स १०७, होटल तथा पर्यटन ३२, जलविद्युत ११७, लगानी २, जीवन बीमा २१५ र उत्पादन समूह १०३ अंकले बढेको छ । त्यस्तै माइक्रोफाइनान्स समूह ८८, निर्जीवन बीमा २५५, अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेका छन् ।
यस दिन कुल १७३ कम्पनीको मूल्य बढ्यो भने ११ कम्पनीको मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको मूल्य स्थिर रह्यो धेरै मूल्य कमाउनेमा अपि पावर र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि रहे । ती कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदी मर्दी र कालिका पावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यस दिन मेगा बैंकको मूल्य सबैभन्दा धेरै ३.९ प्रतिशतले घटेको छ । मेगाको मूल्य प्रतिकित्ता ३४२ रुपैयाँ कायम भएको छ । त्यस्तै युनिलिभर नेपालको मूल्य ३.८ प्रतिशतले घटेर प्रतिकित्ता १८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।