समाचार

खाद्यले यस वर्ष पनि च्याङ्ग्रा बिक्री नगर्ने

chyangra

१३ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंंका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ ।

दसैंका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दसैंमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भएता पनि यसवर्ष खसी/बोका मात्र बिक्री हुने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउने निर्णय भएको हो । ‘एक हजार च्याङ्ग्रा ल्याउने निर्णय अनुसार हामीले तयारी थालेका थियौं, कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा धेरै महँगो भएर ल्याइएन’, उनले भनिन् । कम्पनीले गत वर्षको दसैंमा पनि च्याङ्ग्राको मूल्य बढेको भन्दै बिक्री वितरण गरेको थिएन ।

मुस्ताङबाट च्याङ्ग्रा नआए पनि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७०० खसी तथा बोका ल्याउने तयारी पूरा भएको जनाएको छ । सूचना अधिकारी न्यौपानेले दाङबाट एक हजार र मकवानपुरको ७०० खसी तथा बोका ल्याउने तयारी भएको जनाउँदै आवश्यकता अनुसार थप खरिद गर्ने जानकारी दिइन् । दुई जिल्लाबाट ल्याइएको खसी तथा बोका कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट फूलपातीको दिनबाट बिक्री सुरू गर्ने जनाएको छ ।

कम्पनीले दसैंका लागि प्रति किलो खसी तथा बोकामा रु दश छुट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा रु पाँच तथा भटमासको तेल र कर्णीको सिमिमा रु १० छुट दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस