समाचार

नेपाली महिलाद्वारा पहिलोपटक धवलागिरि हिमाल आरोहण

sagarmartha

१५ असोज, म्याग्दी । संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालको पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् । काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन् ।

सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिए । “धवलागिरि हिमालमा नेपाली महिलाले पहिलोपटक आरोहण गरेका हुन्,” उनले भने, “धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन ।”

श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे/नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताए । पत्रकारसमेत रहेकी गोरखा, आरुघाटकी पूर्णिमाले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन् । पूर्णिमा अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् ।

शेर्पा (पथप्रर्दशक) पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन् । पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुन् । उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन् ।

पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएको गत याममा गर्ने भनेको धवलागिरि आरोहण गर्ने लक्ष्य यसपालि पूरा गर्न लागेको बताएकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस