खेलकुद समाचार

तेक्वान्दो संघमा राणाको निरन्तरता

taekwondo

१६ असोज, भैरहवा । नेपाल तेक्वान्दो संघको अध्यक्षमा प्रकाश शम्शेर राणाले नै निरन्तरता पाएका छन् । लुम्बिनी प्रदेशको भैरहवामा शनिबार भएको चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । राणाले २०७० सालदेखि लगातार संघको नेतृत्व गर्दै आएका छन् । उनी २०७० मा झापाको बितामोर्डमा भएको दोस्रो अधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्यक्षमा सञ्जीव रेग्मी, हरिश्वर पोखरेल र नन्दुकुमार राई सर्वसम्मत रुपमा चयन भए । उपाध्यक्षका अर्का उम्मेदवार भोजबहादुर शाहले अन्तिम समयमा नाम फिर्ता लिएपछि रेग्मी, पोखरेल र राई सर्वसम्मत भएका हुन् । यसैगरी महासचिवमा दीपराज गुरुङ र कोषाध्यक्षमा कासिममिया धोबी सर्वसम्मत रुपमा चयन भए । यसैगरी सदस्यहरूमा कुमार लामा घिसिङ, साम्राज्यविक्रम पाण्डे, सुमन पराजुली, नन्दा बस्याल, रवि थापा, राम गिरी, दीपेन्द्र चन्द ठकुरी, मदन केसी, गुरुप्रसाद गौतम, मणिराज विष्ट र कोसिस खड्का सर्वसम्मत रूपमा चुनिए ।

चौथो अधिवेशनको उद्घाटन समारोहमा इन्जिनियर सञ्जीव रेग्मी र कासिममिया धोबीलाई ‘एनटीए प्रेसिडेन्ट’ अवार्ड प्रदान गरिएको थियो । यसैगरी अर्पण पराजुलीलाई ‘एनटीए हिरोज’, दीपेन्द बहादुर नेपालीलाई ‘एनटीए इन्स्ट्रक्टर’ र गोपाल राईलाई ‘मास्टर्स’ अवार्ड प्रदान गरिएको थियो । पराजुलीलाई नगद ३० हजार, राईलाई १५ हजार र नेपालीलाई १५ हजार नगद पुरस्कार पनि प्रदान गरिएको थियो । यस्तै रोसिद खान, दीपेन्द्रमान श्रेष्ठ र सञ्जय बजिमयलाई प्रशंसापत्र सम्मानित गरिएको थियो ।

अधिवेशनमा ५६ जिल्ला संघका अध्यक्ष, सात प्रदेशका अध्यक्षलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने थियो । अध्यक्ष राणाले खेलकुद विकास ऐन अनुसार सात प्रदेश गठन भइसकेको र आगामी मङ्सिर भित्र प्रदेश संघको अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गर्ने जानकारी दिए । उनले देशका विभिन्न पालिकाहरूमा तेक्वान्दो विकास समिति गठनको काम पनि निरन्तर रूपमा भइरहेको बताए ।

२०३९ सालमा नेपाल मार्सल आर्ट्स संघअन्तर्गत रहेको तेक्वान्दो २०४६ पछि छुट्टै संघका नाममा स्थापित भएको हो । लामो समय तदर्थ रूपमा सञ्चालन हुँदै आएको संघको २०६६ मा वीरगञ्जमा पहिलो पटक लोकतान्त्रिक विधिबाट पदाधिकारी चयन गरिएको थियो । यसैगरी संघको २०७० मा दोस्रो र २०७४ मा तेस्रो अधिवेशन सम्पन्न भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस