
१६ असोज, काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ सर्वजनिक गरिएको छ । शनिबार एक विशेष कार्यक्रमका बीच डा. उपाध्यायले १२ औं उपन्यास ‘मेरी प्रिया’ बाहिर ल्याइएको हो ।
भुँडी पुराणले प्रकाशन गरेको यो उपन्यासलाई वरिष्ठ साहित्यकार खेमनाथ दाहालको प्रमुख आतिथ्यतामा गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, संगीतकार सन्तोष श्रेष्ठ, भुँडी पुराणका अध्यक्ष कृष्णप्रसाद पराजुली, स्रष्टा डा.उपाध्यायलगातले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
संगीतकार सन्तोष श्रेष्ठले उपन्यासको समिक्षा गरेका थिए । बयालीस भागमा विभाजन गरिएको उपन्यास १८० पृष्ठको रहेको छ ।
डा. उपाध्यायका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’ र ‘कफी लभ’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् । गीत संगीत तथा विभिन्न विधामा ५९ विश्व रेकर्ड कायम गरेका छन् । उनका २४ एल्बमका सयौं गीत स्रोता र दर्शकमाझ रहेका छन् ।
डा.उपाध्यायको यही अक्टोबर एक तारिखमा भारतबाट प्रकाशित हुने फिल्मस् टुडे म्यागिजनले पनि कभर स्टोरी बनाएको छ । बलिउडको यस लोकप्रिय म्यागेजिनको कभरमा आउने डा.उपाध्याय सम्भवत पहिलो नेपाली हुन् ।