
१७ असोज, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्ता विरोधी को हो भन्ने विषयमा अलमलिने गरेको बताएका छन् । एमालेको विधान महाधिवेशनको समापनका क्रममा आइतबार ओलीले विरोधी को हो भन्ने विषयमा अलमलमा बस्न नहुने बताए ।
“कतिपय अवस्थामा साथीहरू विरोधी को हो भन्नेमा अलमलिनुहुन्छ,” उनले भने, “विरोधीले गालामा हानिसक्छ, हामी गाला छाम्दै शास्त्र पल्टाउँछौँ, गालामा हान्नु ठिक हो कि बेठिक हो भनेर हेर्न थाल्छौँ ।”
उनले माधव नेपाललाई विरोधी हो/होइन भनेको तर्फ संकेत गर्दै त्यति धेरै शास्त्रीय पनि हुन नहुने बताए । “जसले हाम्रो गालामा हान्छ, त्यही शत्रु हो, हाम्रो सरकार ढाल्न क–कसले काम गरे, ती हाम्रा शत्रु हुन्,” ओलीले भने, “विरोधी छुट्ट्याउन शास्त्र पल्टाउने होइन ।”
ओलीले आफ्नो सरकार ढाल्न योगदान गरेकाहरू आफ्नो विरोधी भन्दै माधव नेपाल पक्षमा लागेर फर्किएकाहरूलाई पनि अप्रत्यक्ष प्रहार गरे ।