
१७ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम ब्याजदर घटाउन लघुवित्त संस्थाहरूलाई आग्रह गरेका छन् । लघुवित्त संस्थाहरूले अधिकतम १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्दै आएका छन् ।
आइतबार माइक्रो फाइनान्स एसोसियसन अफ नेपालको माग पत्र बुझ्दै उनले गाँउगाँउसम्म पहुँच रहेका लघुवित्त संस्थाहरूले ब्याजदर नघटाएसम्म गरीब जनताको जीवनस्तरमा परिवर्तन नआउने बताए । लघुवित्त संस्थाहरूले तय गरेको ब्याजदर घटाउनका लागि सरकारको तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफू तयार रहेको पनि उनले बताए ।
प्रतिनिधिमण्डलले वाणिज्य बैंकहरूबाट ऋण लिएर लघुवित्त सञ्चालन हुने गरेकाले त्यसमा लाग्ने ब्याजदरमा नघटेसम्म लघुवित्तहरूको ब्याज घटाउन सम्भव नहुने बताए । बाणिज्य बैंकहरूले लगाउने ब्याजदरभन्दा लघुवित्तहरूले २ प्रतिशत मात्र थपेर ऋण प्रवाह गर्ने गरेको उनीहरूले बताए । राज्यले पूर्वाधार, उर्जा र कृषिको क्षेत्रमा जस्तै लघुवित्त कोष पनि खडा गर्नुपर्ने माग उनीहरूको छ ।
संघका अध्यक्ष जगत बहादुर पोख्रेल नेतृत्वको प्रतिनिधि मण्डलले पेश गरेको मागपत्रमा राष्ट्रिय लघुवित्त नीति २०६४ मा व्यवस्था भए बमोजिमको कोषका स्थापना गर्नुपर्ने, लघुवित्तमा लाग्ने संस्थागत कर अरूलाई आधा घटाउनुपर्ने, समुह सदस्यको वचतको व्याज आयमा कर नलाग्ने व्यवस्था हुनुपर्ने तथा संस्थामा आवद्घ व्यक्तिको जीवन रक्षा र जिविकोपार्जनको बीमा गर्ने र बीमा कम्पनीहरूले पुनर्विमा सेवा दिनुपर्ने लगायत छन् ।