
१७ असोज, काठमाडौं । छिमेकी देश भारतमा पेट्रोल र डिजेलको मूल्य अहिलेसम्मकै रेकर्ड तोडिने गरी बढेको छ ।
नेपाल पेट्रोलियम पदार्थमा भारतमाथि नै निर्भर छ । बीबीसीका अनुसार आइतबार भारतमा पेट्रोल र डिजेलको मूल्य यसअघिको रेकर्ड तोडिने गरी वृद्धि भएको हो । प्रतिलिटर पेट्रोलको मूल्य लगातार तेस्रो दिन २५ पैसाले बढेको छ । डिजेलको मूल्य पनि ३० पैसाले बढेको छ । राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ २९ पैसा र मुम्बईमा १०८ रुपैयाँ ४३ पैसा भारु पुगेको छ ।
डिजेलको मूल्य पनि दिल्लीमा ९० रुपैयाँ ७७ पैसा र मुम्बईमा ९८ रुपैयाँ ४८ पैसा भारु पुगेको छ ।
तेल कम्पनीले बढाएको मूल्यको बोझ आम मानिसमाथि नपरेको त्यहाँको सरकारले दाबी गरेको छ । पेट्रोलियम पदार्थ आपूर्तिमा भारतको अवस्था बेलायतको जस्तो नभएको भारतका सरकारी अधिकारीहरूले बताएका छन् । अहिले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीन वर्ष यताकै महँगो बनेको छ । बेलायत लगायत केही देशमा मूल्यवृद्धि र आपूर्ति असन्तुलनले ठूलो समस्या निम्त्याइसकेको छ । बीबीसी