१८ असोज, काठमाडौं । पुँजी बजार निरन्तर ओरालो लाग्दा पनि नियामक निकायहरुले सुधारका लागि कुनै पहल नगरेको भन्दै सेयर लगानीकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघरमा विभिन्न माग राख्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
स्वतन्त्र पुँजी बजार सुधार संघको आह्वानमा भएको प्रदर्शनमा लगानीकर्ताले मेरो शेयर र टिएमएसको समस्या छिटो समाधान गर, शेयर बजारमाथि अनावश्यक हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
यसअघि असोज ६ गते पुँजी बजार सुधार संघर्ष समितिले धितोपत्र बोर्डमा विभिन्न माग राखी ज्ञापनपत्र पेश गरेको थियो । आफ्ना माग ५ कार्यदिनभित्र सम्बोधन गरिने भनिए पनि अहिलेसम्म व्यवहारमा लागु हुन नसकेको लगानीकर्ताको भनाइ छ । उनीहरुले लगानीकर्ताको मागका बारेमा कुनै सुनुवाई नभए निरन्तर बिरोध गर्ने बताएका छन् ।
केन्द्रीय बैंकको पुँजी बजार विरोधी नीतिले सेयर बजार धरापमा परेको उनीहरुको आरोप छ ।