१८ असोज, काठमाडौं । फुमियो किशिदा जापानको प्रधानमन्त्री बनेका छन् । गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेता बनेका ६४ वर्षीय किशिदा प्रधानमन्त्री हुने निश्चित थियो । जापानको संसदको दुवै सदनले निर्वाचित गरेसँगै उनले औपचारिक रूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गरे ।
निवर्तमान प्रधानमन्त्री योशिहिदे सुगाको उत्तराधिकारी बनेका किशिदाले यसअघि विदेशमन्त्रीको रूपमा काम गरेका थिए । उनले महामारीपछिको अर्थतन्त्रलाई पुनः उत्थान, उत्तर कोरियाबाट हुनसक्ने खतरालगायत कठिन मुद्दाको सामना गर्नुपर्नेछ । साथै महामारीकाबीच ओलम्पिकको आयोजना गरी लोकप्रियता गुमाएको एलडीपीलाई आउने चुनावमा जिताउने जिम्मेवारी पनि उनको काँधमा छ ।
को हुन् फुमियो किशिदा ?
उनी राजनीतिक परिवारका सदस्य हुन् । उनको बुबा र हजुरबुबा दुवै जापानको प्रतिनिधिसभाको सदस्य थिए । उनी सबैभन्दा लामो समय काम गर्ने विदेशमन्त्री बने । उनी २०१२ देखि २०१७ सम्म विदेशमन्त्री भएका थिए ।
आफ्नो सहरमा परेको प्रभाव देखेका हिरोसीमावासी किशिदा परमाणु हतियारको प्रयोगको विरुद्दमा छन् । उनले २०१६ मा हिरोसीमामा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको भ्रमणको प्रबन्ध मिलाएका थिए । बमले ध्वस्त बनाएको सहरमा अमेरिकी राष्ट्रपतिको त्यो पहिलो भ्रमण थियो । बीबीसी