१८ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबारदेखि (असोज २२) खसीबोकाको विक्री वितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दशैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ ।
गत वर्ष एक हजारवटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष दुई हजारवटा खसीबोकामात्रै बिक्री वितरण गर्न लागेको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दसैँमा खसीबोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर, यस वर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्री वितरण नगर्ने बताएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी वाग्मती प्रदेश कार्यालयकी सूचना अधिकृत सर्मिला न्यौपानेले घटस्थापनाको भोलिपल्टदेखि अर्थात् असोज २२ गतेदेखि राजधानीमा खसीबोका बिक्री वितरण सुरु गर्ने जानकारी दिइन् । कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौडाबाट १२ सय वटा खसीबोका ल्याउने तयारी गरेको पनि उनले बताइन् । कम्पनीले विगतमा निजि क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रति किलो १० रुपैयाँ मूल्य घटाएर खसि बोका बिक्री गर्ने सूचना अधिकृत न्यौपानले जानकारी दिइन् ।
कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैँ यसपटक पनि खसीबोका बिक्री गर्न लागेको बताएएको छ । दसैँका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य खाद्य सामग्रीहरूमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्री वितरण गरिरहेको छ ।