समाचार

नम्बरप्लेट नराखी चलाइएका २१९ मोटरसाइकल नियन्त्रणमा

bike

२० असोज, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बरप्लेट नराखी चलाएका २१९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । नम्बरप्लेट नलेखिएका १६५ र अस्पष्ट, खुइलिएका नम्बरप्लेट भएका ५४ मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बरप्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थायी नम्बरप्लेट भएका, नम्बरप्लेटको टप बंग्याइएका वा नम्बरप्लेट ढाकिएका मोटरसाइकलहरूविरुद्ध विशेष चेकजाँच अभियान सञ्चालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

‘‘नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बरप्लेट नलेखिका मोटरसाइकलहरूले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको छ । त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउनसमेत समस्या हुने गरेको छ,” उनले भने, ‘‘कतिपय त्यस्ता मोटरसाइकलहरू तीव्र गति र लापरबाहीका साथ चलाउने, ट्राफिक नियम उल्लंघन गर्दै हिँड्ने गरेको पाइन्छ । हराउँदा समेत फेला पार्न सकस हुने गरेको छ ।” तोकिएको ढाँचाबमोजिम नम्बरप्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले ५०० देखि १५ सय रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस