समाचार

शक्तिपीठमा बिहानैदेखि भक्तजनको चहलपहल

baglung kalika mandir

– पूर्णप्रसाद मिश्र
२१ असोज, काठमाडौं । दुर्गा पक्ष सुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो । यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भिड लागेको हो ।

विगत वर्षमा काटिएको घटस्थापनाको दिनको सार्वजनिक बिदा यस वर्षदेखि सरकारले फेरि दिन थालेकाले पनि शक्तिपीठमा भक्तजनको भिड लागेको हो । नवरात्र नपरेका बेला पनि आज देवी मन्दिरमा भक्तजनको भिड लाग्छ । शरद ऋतुमा पर्ने आश्विन शुक्ल पक्ष देवीको पूजा–आराधनाका लागि उत्तम समय मानिन्छ । यो बेला वर्षा सकिएर वातावरण पनि रमाइलो र घमाइलो देखिन्छ ।

बडादसैँका रूपमा समेत मनाइने यो नेपालीको राष्ट्रिय चाड हो । बडादसैँको पहिलो दिनदेखि नै घरघरमा घटस्थापना गरी नवदुर्गाको विशेष पूजा–आराधना गरिन्छ । आज घटस्थापनाको साइत बिहान ११ः४६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज दिनभर चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि शान्ति गर्नुपर्ने शास्त्रीय विधि रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए । चित्रा नक्षत्रको स्वामी त्वष्टाअर्थात् विश्वकर्मा र वैधृति योगका स्वामी अदितिको पूजा–अराधना गरेर दोष मुक्तिका लागि शान्ति गर्नुपर्छ ।

नक्साल भगवतीको स्वरूप बिगारिँदा सफाइमा समस्या
काठमाडौं महानगरपालिका–१ मा रहेको नक्साल भगवती क्षेत्रको सफाइमा बुधबार बेलुकीदेखि नै स्थानीयवासी सक्रिय भएका थिए । मन्दिर परिसरमा घटस्थापना गरी आजदेखि नवदुर्गाको विधिवत् पूजा–आराधना गर्ने तयारी भइरहेको छ । वि.सं. २०६६ मा जीर्ण मन्दिर भत्काएर पुनर्निर्माण गर्ने क्रममा पहिलेको भन्दा स्वरूप बिगारिएकाले मन्दिरमाथि जम्मा भएको फोहर सफा गर्न अप्ठ्यारो भएको स्थानीयवासी अविल कपालीले बताए ।

पहिले मन्दिरभित्र दलिन राखेर गजुरसम्म पुगेर सफाइ गर्न सकिने संरचना रहेकामा वि.सं. २०७० मा मन्दिर पुनर्निर्माण सम्पन्न हुँदा यो स्वरूप बिग्रिएको उनको गुनासो थियो । पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्त्व भएका संरचना पुरानै स्वरूपमा बनाउनुपर्ने कानुनी व्यवस्था भए पनि पुरातत्व विभागको हेलचेक्र्याइँले यस्तो भएको स्थानीयवासीको दुःखेसो छ । मन्दिरको पुरानो स्वरूप बिगारिएकै कारण बाहिरबाट भर्‍याङ राखेर मन्दिरमाथि सफाइ गर्न जानुपर्ने बाध्यता परेको छ ।

मन्दिर पुनर्निर्माणका बेला परिसरको ढुंगेधारासमेत साँघुरो बनाइएकाले पानीको दह जम्ने गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र राजकर्णिकार बताउँछन् । यसका कारण मन्दिर क्षेत्रमा फोहर पानी जम्ने गरेको छ । यन्त्र लगाएर ठूलो पाइपले फोहर पानी बाहिर फाल्नुपरेको उनले सुनाए । मन्दिर कहिले बन्यो भन्ने यकिन इतिहास नभए पनि मन्दिर क्षेत्रमा रहेको जलद्रोणीमा लिच्छविकालीन अभिलेख रहेकाले त्यसअघि नै बनेको मन्दिर हो भन्न सकिन्छ ।

यसैगरी, काठमाडौं–३० मा रहेको मैतीदेवी मन्दिरमा सफाइसहित आजदेखि विशेष पूजाको तयारी गरिएको छ । मैतीदेवी मन्दिर क्षेत्रमा पनि बिहानैदेखि भक्तजनको भिड लागेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष दलबहादुर कार्की भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नवरात्रमा मन्दिर आउने भक्तजनलाई दर्शन एवं पूजा–आराधनाको व्यवस्था मिलाइएको बताउँछन् ।

काठमाडौं–८ मा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर क्षेत्रमा पनि भक्तजनको भिड लागेको छ । मन्दिर क्षेत्र सफाइ गरी विशेष पूजा–आराधनाको व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्रका अन्य शक्तिपीठमा पनि भक्तजनको भिड लागेको छ । दुर्गा पक्षका पनि सार्वजनिक बिदाका दिन पशुपति क्षेत्रका शक्तिपीठमा भक्तजनको बढी भिड लाग्ने गर्छ ।

काठमाडौं उपत्यकाका कालिकास्थान, भद्रकाली, शोभाभगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, कंकेश्वरी, इन्द्रायणी, चामुण्डादेवी, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराहीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भिड लागेको छ । नवरात्रको पहिलो दिनदेखि नै शक्तिपीठमा भक्तजनको भिड लाग्ने गर्छ ।

यसैगरी, काठमाडौं उपत्यका बाहिरका शक्तिपीठमा पनि भक्तजनको भिड लाग्छ । पाथीभरा, पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, इच्छाकामना देवी, मनकामना देवी, शैलेश्वरी, बागलुङ कालिकालगायत देवी मन्दिरमा पनि भक्तजनको भिड लाग्ने गर्छ । नवरात्रका अवसरमा शक्तिपीठमा पुगी पूजा–आराधनासहित देवीको दर्शन गरेमा मनोकांक्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वासका आधारमा देशभरका शक्तिपीठमा नवरात्रभर भक्तजनको भिड लाग्ने गर्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस