२१ असोज, काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा बिहीबार गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन् ।
५.९ म्याग्निच्युड मापन गरिएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट नौ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पका कारण भवनहरू ढल्दा मानिसको मृत्यु भएको त्यहाँका एक सरकारी अधिकारीले बताएका छन् । भूकम्पमा परी कम्तीमा १५० जना घाइते भएका स्थानीय अधिकारीको भनाइ छ ।
तीमध्ये कतिपयलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मृत्यु हुनेमा केही महिला र बालबालिका पनि छन् । एक अधिकारीका अनुसार १०० भन्दा बढी माटोका घरहरू ढलेका छन् । ठूलो संख्यामा भवनहरू क्षतिग्रस्त भएका छन् । जसका कारण सयौँ व्यक्ति घरबारविहीन भएका जनाइएको छ । उद्धारकार्य जारी छ ।
अधिकारीहरूका अनुसार सबैभन्दा धेरै क्षति प्रान्तको हरनाई जिल्लामा भएको छ । प्रान्तीय राजधानी क्वेटाको पूर्वमा रहेको हरनाईमा ठूलो संख्यामा कोइला खानी छ ।