समाचार

तनावग्रस्त पाँचथर अस्पतालको समस्या समाधानका लागि चारबुँदे सहमति

Aaspatal todfod

२१ असोज, पाँचथर । उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको पाँचथर अस्पतालको समस्या समाधानका लागि चारबुँदे सहमति भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट प्रशासन र मृतक बालिकाका परिवारबीच चारबुँदे सहमति भएको हो ।

घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गर्ने सहमति भएको छ । नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटाको संयोजकत्वमा अस्पताल विकास समितिका सदस्य दीपक नेपाल, मृतक बालिकाका बाबु कमल थाम्सुहाङ र छिमेकी होमराज थाम्सुहाङ तथा जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नारायण जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको हो । यस्तै, मृतक बालिकाका परिवारका सदस्यलाई उपयुक्त समयमा रोजगारीका लागि प्रयत्न गर्ने, मृतक बालिकाको काजकिरियाका लागि ४० हजार रुपैयाँ रकम अस्पताल विकास समिति र रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराउने सहमति भएको छ ।

यस्तै, आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालिकाको शव अस्पतालबाट उठाई शव परीक्षण गरी अन्तिम संस्कार गर्ने सहमति समेत भएको छ । फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको उपचारका क्रममा हिजो बिहान मृत्यु भएपछि जिल्ला अस्पताल तनावग्रस्त बनेको थियो । प्रशासनले अस्पताल क्षेत्रको सुरक्षालाई ध्यान दिई नियन्त्रणमा नलिँदा उत्तेजित भिडले गरेको आगजनीमा अस्पतालका संरचनामा ठूलो क्षति पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस