विश्व/प्रवास

इन्डोनेशियामा फालिएका प्लास्टिकको बोतलले बनेको म्युजियम सार्वजनिक

plastic museum in indonesia

२२ असोज, काठमाडौं । इन्डोनेशियाका वातावरण संरक्षणवादीहरुले विश्वव्यापी प्लास्टिक संकटको गम्भीर अवस्थाबारे सन्देश दिन पूर्ण रुपमा प्लास्टिकले बनेको म्युजियम सार्वजनिक गरेका छन् । यसले मानिसहरुलाई एकपटक मात्र प्रयोग गर्न सकिने, ‘सिंगल युज प्लास्टिक’ का झोला या बोतलहरुबारे पुनः विचार गरि आफ्नो बानी सुधार्न प्रोत्साहन गर्ने उनीहरुको लक्ष्य रहेको छ ।

पूर्वजाभाको ग्रेसिक शहरमा गरिएको यो ‘आउट–डोर’ प्रदर्शनी निर्माण गर्नै तीन महिना लागेको थियो । यसमा १० हजार भन्दा बढी प्लास्टिकजन्य फोहोरको प्रयोग गरिएको छ । प्लास्टिकका बोतलदेखि झोला, स्ट्र, प्याकेटका खोल लगायत खोला र समुद्र किनारबाट संकलिन सबै किसिमका प्लास्टिकजन्य फोहोरले यो म्युजियम बनाइएको हो ।

म्युजियमको केन्द्रमा जाभाका मानिसहरुले पूजा गर्ने समृद्धिकी देवी ‘देवी श्री’ को मूर्ति पनि रहेको छ । यसमा उनको लामो फरिया बनाउन घरेलु फोहोर जस्तै एकपटक मात्र प्रयोग हुने प्लास्टिकका खोलको प्रयोग गरिएको छ ।

म्युजियमकी संस्थापक प्रिगी अरिसान्दी भन्छिन्, “हामी मानिसहरुलाई एकपटक मात्र प्रयोग हुने प्लास्टिक नचलाउन सचेत गर्न चाहन्छौँ । किनकी सिंगल युज प्लास्टिक वास्तवमै रिसाइकल गर्न एकदमै कठिन हुन्छ । त्यसैले आजदेखि नै त्यसलाई बन्द गर्न आग्रह गरिरहेका छौँ । त्यसले हाम्रो समुद्रलाई फोहोर गरिरहेको छ जुन धेरैको खानाको श्रोत पनि हो । ”

प्लास्टिक प्रदुषण इन्डोनेशियामा गम्भीर रुप लिइसकेको छ । समुद्रमा प्लास्टिकजन्य फोहोर सबैभन्दा बढी हुनेमा यो चीन भन्दा एक स्थान मात्र तल रहेको छ । यससँगै फिलिपिन्स र भियतनाममा पनि समुद्रामा प्लास्टिकजन्य फोहोरको मात्रा अत्याधिक बढिरहेको छ ।

यो प्रदर्शनीमा भने हालसम्म ४०० मानिसहरुले भ्रमण गरिसकेका छन् । एक स्थानीय विद्यार्थी एहमद जेनुरीका अनुसार प्लास्टिक प्रदुषणको समस्या कुन स्तरसम्म पुगिसकेको छ भन्नेबारे यसले उनको आँखा खुलाएको छ । उनी भन्छन्, “अब देखि म कपडाको झोला मात्र प्रयोग गर्नेछु र पानी खानलाई पनि आफूसँगै बोतल बोकेर हिँड्नेछु । ”

यो म्युजियम यतिबेला धेरैका लागि सेल्फी खिच्न आकर्षणको केन्द्र पनि बनिरहेको छ र सामाजिक संजालमा अत्याधिक शेयर भइरहेको छ । त्यहाँ प्रयोग गरिएका अत्याधिक बढी फोहोर देखेर धेरै मानिसहरु तर्सिएको भन्ने प्रतिक्रिया पनि दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस