
२४ असोज, काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको एस्ट्राजेनिका खोपको दोस्रो डोज लिन बाँकी सबैलाई दसैँपछि दिने भएको छ । भारतबाट खरिद गरेको २० लाखमध्ये आउन बाँकी १० लाख डोज कोभिसिल्ड शनिबार आइपुगेपछि सबैलाई खोप दिइने भएको हो ।
दोस्रो डोजको कोभिसिल्ड खोप दसैँपछि सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशभर १२ लाख ६१ हजार ४०९ नागरिक एस्ट्राजेनिका खोपको दोस्रो डोजको पर्खाइमा छन् ।
शनिबार ल्याइएको १० लाख डोजमा र अहिले जगेडा रहेको केही खोप थपेर एस्ट्राजेनिका दोस्रो डोजको पर्खाइमा रहेका सबैलाई खोप दिने लक्ष्य रहेको स्वास्थ्य सेवा विभाग अन्तरगत आपूर्ति महाशाखाले जनाएको छ ।
सरकारले भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासँग सात महिनाअघि खरिद गरी भुक्तानी गरेको २० लाखमध्ये १० लाख डोज खोप मात्रै आएको थियो । बाँकी १० लाख डोज खोप शनिबार नेपाल ल्याइएको हो ।