समाचार

काठमाडौँबाट हङकङमा चरेस पठाउने ७ जना पक्राउ

pakrau

२४ असोज, काठमाडौं । काठमाडौंबाट हङकङमा चरेस पठाउने समूहका सात जनालाई लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । कारखाना नै सञ्चालन गरेर थाङ्कामा लुकाएर कार्गो मार्फत चरेस पठाउने समूहलाई नियन्त्रणमा लिइएको ब्युरोका प्रवक्ता (एसपी) जीवन श्रेष्ठले बताए ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारीका अन्जित थापा, सिन्धुपाल्चोक घर भएका सुजन श्रेष्ठ र जालिन्द्र श्रेष्ठ उर्फ सागर सहित सात जना छन् । पर्सा घर भएका दिनदयाल महतो उराव, दीपेन्द्र महतो, मकवानपुरका रवि मोक्तान र धादिङ थाक्रे गाउँपालिका घर भएका मोतिलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १४ मा मानभवन स्थित ‘ब्लु स्टार कार्गो’बाट हङकङ पठाउन लागेको अवस्थामा प्रहरीले अन्जित थापाको साथबाट ३ किलो ५० ग्राम चरेस बरामद गरेको थियो । अन्जितलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका घर भई हात्तिवन बस्ने सुजन श्रेष्ठले सो चरेस दिएको अनुसन्धानबाट थाहा भएको ब्युरोका एसपी जीवन श्रेष्ठले बताए ।

‘हङकङमा चरेस पठाउने समूहका मुख्य आरोपी सुजन श्रेष्ठ भएको खुलेको छ’ एसपी श्रेष्ठले भने–‘सुजनलाई चाहिँ सिन्धुपाल्चोक लिसङ्खुपाखर घर भएका जालिन्द्र श्रेष्ठले चरेस दिएको अनुसन्धानबाट थाहा भएको छ ।’

बौद्ध स्थित थाङ्का र डम्फुमा चरेस लुकाएर तयार गरिने कारखानामा काम गर्ने दिन दयाल महतो उराव र दीपेन्द्र महतोको साथबाट प्रहरीले २ केजी ८७५ ग्राम चरेस बरामद गरेको छ । मकवानपुरका रवि मुक्ताको डेराबाट ९ ग्राम ५ सय ग्राम चरेस बरामद गरिएको छ । धादिङका मोतिलाल तामाङले मकवानपुर र धादिङका विभिन्न गाउँबाट चरेस सङ्कलन गरेर ल्याउने गरेको ब्युरोले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस