समाचार

स्याङ्जामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु, गाउँ शोकमा

road accident

२५ असोज, वालिङ । आइतबार साँझ वालिङ नगरपालिका–१०, मदिखोलानजिकै भएको जीप दुर्घटनामा परी एउटै गाउँका दुईसहित तीनजनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका–१०, लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्ली तथा सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

जीपमा सवार रहेका १९ जनामध्ये आइतबार वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा दुईजना र गए राति पोखरास्थित मणिपाल अस्पतालमा थप एकसहित तीनजनाको मृत्यु भएको हो । गल्याङ नगरपालिका–१० की करिष्मा थापाको मणिपाल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

ज्यान गुमाउनेमध्ये तीनैजना एउटै वडाका हुन् भने दुईजना लिहुडाँडाका र एकजना गाउँसौराका रहेका गल्याङ नगरपालिका–१० का वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पंगेनीले जानकारी दिए । “वालिङबाट गाउँतर्फ जाँदै गरेको जीप आइतबार साँझ वालिङ–१०, मदिखोलानजिकै कच्ची सडकबाट झन्डै ५० मिटर तल खसेर दुर्घटना भएको छ,” वडाध्यक्ष पंगेनीले भने, “जीपमा सवार रहेका मध्ये धेरै लिहुडाँडाका हुन्, जहाँका दुईजनाको मृत्यु भइसकेको छ भने अन्यको पोखरामा उपचार भइरहेको छ, गाउँ पूरै शोकमा छ ।”

दसैँको बेला बजारबाट गाउँतर्फ फर्किंदै गरेका एउटै गाउँका आफन्तलाई गुमाउनुपर्दा र अंगभंग भएर अस्पतालमा बस्नुपर्दा अहिले गाउँमा निकै पीडा महसुस भएको वडाध्यक्ष पंगेनीले बताए । वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जीप कच्ची उकालो बाटोबाट आइतबार साँझ झन्डै ५० मिटर तल खसेको थियो । उक्त जीपमा चालकसहित १९ यात्रु थिए । चालकसहित अन्य दुईजना सामान्य उपचारपछि निको भएका छन् भने बाँकी रहेका १४ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस