समाचार

हनुमानढोकामा भित्र्याउन गोरखाको दसैँघरबाट फूलपाती ल्याइँदै

Fulpati

२६ असोज, काठमाडौं । काठमाडौं हनुमानढोकामा भित्र्याउनका लागि आज बिहान गोरखाको दसैँघरबाट फूलपाती लिएर टोली हिँडेको छ । गोरखा दरबारबाट ल्याइएको फूलपाती हनुमानढोकास्थित दसैँघरमा भित्र्याउने परम्परा छ ।

हनुमानढोकामा ल्याउन गोरखा दरबारका सुसारेहरूले अमराइ, ठूलो वनलगायत जंगलबाट नौ प्रकारका फूलपाती संकलन गरेका थिए । बा२झ २१२९ नम्बरको गाडीले फूलपाती लिएर काठमाडौं आउँदै गरेको बताइएको छ ।

गोरखकालीका पुजारी शारदाप्रसाद भट्टराईका अनुसार वर्षौँदेखिको परम्परा अनुसार मंगलबार पनि हनुमानढोकाका लागि फूलपाती पठाइएको हो । फूलपाती पठाउने क्रममा धिमेबाजा र डोलीसहितको टोलीले हर्षोल्लास गरेको थियो ।

सडकको पहुँच नपुग्दासम्म गोरखाबाट धादिङको जीवनपुर हुँदै पैदलयात्रा गरेर फूलपाती हनुमानढोका ल्याउने गरिएको थियो । पृथ्वीनारायण शाहले नुवाकोट हुँदै राजधानी हनुमानढोकामा सारेपछि गोरखाको फूलपाती हनुमानढोका ल्याउने प्रचलन बसालेका थिए ।

गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहररू, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस