२ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कात्तिक महिनाबाट लागु हुनेगरी वृद्धि गरेको ब्याजदरका विषयमा उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । राष्ट्र बैंकलाई कात्तिक २ गते ध्यानाकर्षण पत्र पठाउँदै संगठनले लामो समयको महामारीबाट प्रताडित उद्योग व्यवसायहरू विस्तारै तङ्ग्रिदै गरेको अवस्थामा उत्पादन लागतमा प्रत्यक्ष दबाव बढ्ने गरी बैंक तथा वित्तीय संस्थाहरूले कात्तिकबाट लागु हुने गरी वृद्धि गरेको ब्याजदरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
बजारमा तरलता अभावको कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाहरूले वृद्धि गरेको ब्याजदरलाई तत्काल पुनरवलोकन गरी उत्पादनमुलक क्षेत्रमा प्रवाह भएको कर्जाको ब्याजदर एक अंकमा नबढ्नेगरी निर्धारण गर्न संगठनले माग गरेको छ ।
ब्याजदर बढ्ने प्रमुख कारण आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिले बैंक बित्तीय संस्थाको तरल पुँजीलाई निष्क्रय पारेर डिपोजिटको ९० प्रतिशत मात्र लगानी गर्न पाउने गरि सीडी रेसियो कायम हुने व्यवस्था भएको संगठनले जनाएको छ । यसले बजारमा लगानीयोग्य तरलताको अभाव भएको संगठनको ठहर छ ।
संगठनले सीसीडी रेसियो कायम गरी लगानीयोग्य रकमको दायरालाई फराकिलो बनाउन माग गरेको छ ।
सरकारले गर्ने पुँजीगत तथा विकास खर्च अत्यन्त न्यून रहेकाले सार्वजनिक क्षेत्रबाट हुने खर्चलाई प्रभावकारी र द्रुत गतिमा खर्च गर्ने व्यवस्था गरी बजारमा नगद प्रवाहलाई बढाउन पनि आग्रह गरेको छ ।
बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कुल कर्जामध्ये उत्पादनमुलक क्षेत्रमा प्रवाह हुने कर्जा लगानीलाई सहज र सरल प्रकृयाबाट प्रवाह गर्ने व्यवस्था गरी अनुत्पादक क्षेत्रको लगानी घटाउँदै उप्पादनमुलक क्षेत्रको लगानी बढाइनुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूले गर्ने प्रशासनिक तथा व्यवस्थापन खर्चको बैँक तथा बित्तीय संस्थाको वर्गका आधारमा निश्चित मापदण्डको दरिलो आधार निर्माण गरी अनुत्पादक खर्च कटौतिका साथ आधार दर घटाउने तर्फ आवश्यक कदम चाल्नुपर्ने जनाएको छ ।