समाचार

हुम्लाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना

Simikot Humla

४ कात्तिक, सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका छन् ।

पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरू तुम्लिङमा रोकिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

हिमपातका कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा बाटो छिचोल्न नसकेर विदेशीसहित १२ जना रोकिएका हुन् । असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएको टोली पदयात्रापछि न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने कार्यक्रम थियो ।  आइतबारबाट न्यालु लेकमा बाक्लो हिमपात हुँदा उक्त टोली उतै रोकिनुपरेको रिचा टुरका हुम्ला प्रतिनिधि पेमा लामाले बताए ।

न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परेकाले बाटो बन्द भएपछि स्थानीय नागरिक, आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृह मन्त्रालयमा लेखी पठाएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । प्रजिअका अनुसार बुधबार मौसम सफा नभएका कारण उद्धार हुन सकेन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस