
१० कात्तिक, काठमाडौं । अष्ट्रेलियाले आफ्ना नागरिकहरूलाई बिनाअनुमति देशबाट बाहिरिन नपाउने नियम अर्को हप्तादेखि हटाउने भएको छ । अष्ट्रेलियनहरूले विश्वकै सबैभन्दा कडा सिमाना नियमको पछिल्लो १९ महिनादेखि पालना गरिरहेका थिए ।
कोभिड–१९ लाई नियन्त्रणमा राख्न सरकारले यस्तो उपाय अपनाएको हो । आउँदो नोभेम्बर १ देखि कोभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएकाहरूलाई देश छाड्न विशेष अनुमतिको आवश्यकता नपर्ने बताइएको छ । अहिलेका लागि यो नियममा केवल अष्ट्रेलियनहरूलाई समावेश गरिएको छ । तर, छिट्टै विदेशीहरूका लागि पनि धेरै नियम खुकुलो पारिने सरकारले जनाएको छ ।
गृहमन्त्री केरेन एन्ड्रयुजले आफ्नो बयानमा भनेका हुन्, “यो वर्ष अन्त्य हुनुअगाडि हामी पूर्ण डोज खोप लगाएका दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि स्वागत गर्ने अपेक्षा गरिरहेका छौँ ।” यसअघि, प्रधानमन्त्री स्कट मरिसनले नागरिकलाई तिनको जीवन फिर्ता दिने समय आएको उल्लेख गरेका थिए । सरकारको यो निर्णयलाई अष्ट्रेलियनसहित सबैले सकारात्मक मानेका छन् । किनकि, सीमा बन्द रहेकै कारण धेरै मानिस महामारी अवधिभरि आफ्ना परिवार र प्रियजनबाट अलग्गिएर बस्नुपरेको थियो ।
तर, अझै पनि क्वीन्सल्यान्ड र वेस्टर्न अष्ट्रेलियाजस्ता स्टेटहरूले खोप दर उच्च विन्दुमा नपुगेसम्म सिमाना बन्दै राखिने चेतावनी दिएका छन् । योभन्दा अगाडिसम्म अष्ट्रेलियन नागरिकले देश छाड्नुपर्दा विशेष कारण देखाएर अनुमति लिनुपर्ने हुन्थ्यो । अझै पनि अष्ट्रेलिया भित्रिनेसम्बन्धी नियममा भने कडाइ नै गरिएको छ । जसअन्तर्गत खोप नलगाएका मानिसले यात्रा गर्न विशेष अनुमति लिनुपर्ने हुन्छ र १४ दिनसम्म होटेल क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । बीबीसी