१४ कात्तिक, काठमाडौं । यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढी–पहिरोमा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । कुल ४४ घाइते रहेका र १७९ घरमा क्षति पुगेको केन्द्रले जनाएको छ ।
गएको असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण यसरी मानवीय क्षति पुगेको हो । मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो । वर्षाका कारण नेपालको पूर्व र पश्चिम क्षेत्र नराम्ररी प्रभावित भएको थियो । ठूला–ठूला पहिरोले मानवीय क्षति बढी गराएको हो ।
प्राप्त विवरणअनुसार सबैभन्दा बढी कात्तिक ३ गते ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए । कात्तिक ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । हराइरहेका खोजी जारी रहेको र राहत तथा अस्थायी आश्रयस्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ ।