विश्व/प्रवास

अफगानिस्तानमा एक विवाह समारोहमा आक्रमण, दुईजनाको मृत्यु

Afghanistan Taliban attacked

१४ कात्तिक, काठमाडौं । अफगानिस्तानको एउटा विवाह समारोहमा आक्रमण गरी कम्तीमा दुईजनाको हत्या गरिएको छ । आफूलाई तालिबान भनी चिनाउने बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा दुईजनाको मृत्यु भएको र अरू १० जना घाइते भएका अधिकारीहरूले बताएका छन् । एक तालिबान प्रवक्ताले तीनमध्ये दुई बन्दुकधारीलाई पक्राउ गरिएको बताएका छन् । तर, उनीहरूले इस्लामिक आन्दोलनको तर्फबाट काम गरेको भने अस्वीकार गरेका छन् ।

तालिबानले पहिलोपटक सन् १९९६ देखि २००१ मा शासन गर्दा संगीत प्रतिबन्ध गरिएको थियो । नयाँ अधिकारीहरूले अहिलेसम्म यस्तो आदेश जारी गरेका छैनन् । प्रत्यक्षदर्शीले बीबीसीलाई बताएअनुसार शुक्रबार नान्गाहार प्रान्तको सुर्ख रोड जिल्लाको एउटा संयुक्त विवाह समारोहमा चार जोडीले विवाह गर्दै थिए । उनीहरूले स्थानीय तालिबान नेताबाट महिलाले मात्र प्रयोग गर्ने क्षेत्रमा रेकर्ड गरिएको संगीत बजाउन अनुमति लिएका थिए । तर, राति अबेर बन्दुकधारी जबर्जस्ती त्यहाँ घुसेर लाउडस्पीकर तोडफोडको प्रयास गरेका थिए । पाहुनाहरूले विरोध जनाएपछि उनीहरूले गोली चलाएका हुन् ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । नान्गाहार प्रान्तमा तालिबानको विरोधी इस्लामिक स्टेट समूह पनि क्रियाशील छ । विगतमा यस्तै घटनाहरूको लागि इस्लामिक स्टेटलाई दोष दिइएको थियो । तालिबानले पहिलो कार्यकालमा इस्लामिक कानुनको अत्यन्त कडा व्याख्या गर्दै लागु गरेको थियो । तर, अन्तर्राष्ट्रिय मान्यता खोजिरहेको तालिबानले अहिले थप उदार छवि प्रस्तुत गर्न खोजिरहेको छ । शक्तिमा फर्किएयता तालिबानलाई एकजना लोकगायकको हत्या गरेको र सामग्रीहरू तोडफोड गरेको आरोप लगाइएको छ । धेरै गायक र संगीतकारहरू अफगानिस्तान छोडेर भागिसकेका छन् । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस