बैँक / वित्त

एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, के हो ट्रेजरी बिल ?

nrb rastra bank

१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले ९१ दिन अवधिको १० करोड रुपैयाँ बराबरको र ३६४ दिन अवधिको एक अर्ब ५६ करोड रुपैयाँको गरी कुल एक अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल सोमबार जारी गर्न लागेको हो । बैंकले आइतबार जारी गरेको सूचनाअनुसार ९१ दिने ट्रेजरी आगामी माघ १८ गते परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी २०७९ कात्तिक १५ मा परिपक्व हुनेछ ।

यसअघि, यही कात्तिक ८ मा बैंकले पाँच अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुने बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।

के हो ट्रेजरी बिल ?
मुद्रा बजारको एक प्रमुख उपकरणका रूपमा रहेको ट्रेजरी एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन मुलुकको केन्द्रीय बैंकले प्रयोग गर्ने अल्पकालीन सरकारी ऋणपत्र हो ।

बैंकले प्रमिसरी नोटको रूपमा सर्वप्रथम वि.सं. २०१८ मा वार्षिक एक प्रतिशत ब्याजदरमा ७० लाख रुपैयाँ मूल्यमा ९० दिने ट्रेजरी बिल निष्कासन गरिएको थियो । बोलकबोल प्रक्रियाबाट २०४५ मंसिर १० देखि निष्कासन हुँदै आएको यो ऋणपत्र २०४८ पुसदेखि हरेक साता र २०७२ असारदेखि प्रविधिमा आधारित भई अनलाइनमार्फत नियमित जारी हुँदै आएको छ ।

यस्तो ऋणपत्रलाई परिपक्व हुनुअगाडि रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । सर्वसाधारणले यस्ता ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण समेत लिन सक्छन् ।

नेपालमा केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका ट्रेजरी जारी गर्ने गर्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *