
२२ कात्तिक, काठमाडौं । टोखा नगरपालिकाले नगरपालिकाभित्र विभिन्न माध्यमबाट सहयोग पुर्याउने सहयोगीदातालाई सम्मान गर्ने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले वि.सं. २०७४ वैशाखदेखि हालसम्म नगरपालिकाभित्र विभिन्न माध्यामबाट सहयोग पुर्याउने सहयोगीदातालाई सम्मान गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखामा जनप्रतिनिधि बहाल भएपछि हालसम्मको समग्र क्रियाकलाप तथा प्रगतिको अवस्था झल्कने ‘नगरको संस्करण पुस्तिका प्रकाशन, सार्वजनिक सुनुवाइ एवं सहयोगीदातालाई सम्मान’ गर्न लागिएको जानकारी दिए ।
टोखाले नगरपालिकाभित्रका उपभोक्ता समिति र उपभोक्ता समितिको पदाधिकारीको नामावली (पदसहित), कोरोना महामारीमा आर्थिक÷सामग्री सहयोग गर्ने व्यक्ति एवं संस्था, कोरोना महामारीमा सहयोग गर्ने स्वयंसेवक, कोरोना महामारीमा प्लाज्मा दान गर्ने व्यक्ति, कोरोना महामारीमा अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई सम्मान गर्न लागेको हो ।
यस्तै, नीति निर्माणमा सल्लाह दिने व्यक्ति, नगरपालिकाभित्र सबैभन्दा बढी कर तिर्ने करदाता, योग साधनामार्फत स्वास्थ्य सेवा प्रदान गर्ने योग साधकहरू, टोखाका चाकु उत्पादक, मनोपरामर्शदाता र प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा टोखालाई सहयोग पुर्याउने व्यक्तिलाई सम्मान गर्न लागिएको नगरप्रमुख अधिकारीले बताए । टोखाले सम्मानका लागि योग्य व्यक्ति एवं संस्थालाई आफ्नो विवरण कात्तिक २३ गतेभित्र नगरपालिकामा उपलब्ध गराउन सबैलाई आग्रह समेत गरेको छ ।