२५ कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध विद्यार्थीले बुटवलमा चक्काजाम गरेका छन् ।
बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले बिहीबार बिहानै बुटवलमा चक्काजाम गरेका हुन् ।
यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ पुगेको छ ।
त्यस्तै मट्टीतेल र डिजेलको मुल्य १ सय १९ रुपैयाँ प्रतिलिटर पुगेको छ । अनेरास्ववियू रूपन्देहीका सचिव प्रकाश पराजुलीले इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेकोले मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएको बताए ।
विद्यार्थीहरुले मूल्य वृद्धि फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।