
२५ कात्तिक, काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगो नि’ पुनः युट्युबमा आउने भएको छ । टेलिश्रृंखला निर्माण कम्पनी जेपीटी क्रिएसन प्रालिको आधिकारिक युट्युब च्यानलमा पुनः प्रसारण हुने भएको हो । कलाकार अर्जुन घिमिरे ‘पाँडे’का अनुसार युट्युबमा ‘सक्किगो नि’ का आगामी श्रृंखलाहरू नियमित रूपमा युट्युबमा आउने जानकारी दिए ।
‘आजबाट जेपिटी क्रिएसनको अफिसियल युट्युब पेजमा बेलुका ९ बजे सक्किगो नि निरन्तर रूपमा आउने जानकारी गराउँछौं,’ उनले भने, ‘केही हप्ता पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । यहाँहरूको माया, सल्लाह, सुझाव र सद्भावका लागि मनबाट नै सम्मान अनि नमन व्यक्त गर्छौं ।’ यसअघि गत बिहीबारदेखि सक्किगो नि नेपालका ६ वटा ओटिटी प्लेटफर्ममार्फत आउने गरेको थियो ।
यसअन्तर्गत ओहो मुभिज, क्लियर टिभी, भाया टिभी, डिशहोम गो, नेटटिभी लगायत थिए । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको यो सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणि नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।