
२८ कात्तिक, काठमाडौं । दक्षिण कोरियामा रोजगारीका निम्ति पास गर्नुपर्ने भाषा परीक्षा पुस १ देखि हुने भएको छ । इपिएस कोरिया शाखाले भाषा परीक्षा आगामी पुस १ देखि ७ गतेसम्म हुने एक सूचनामार्फत जानकारी दिएको छ ।
शाखाका अनुसार परीक्षा कम्प्युटरमा आधारित (पेपरलेस) हुने छ । उक्त परीक्षा पुस ७ गतेसम्म चल्नेछ । गत वर्ष भने कोभिडका कारण भाषा परीक्षा हुन सकेन । सन् २०१९ को भाषा परीक्षामा ८४ हजार २ सय १५ जना युवाहरुले सहभागिता जनाएका थिए ।
उनीहरुमध्ये १२ हजार ९ जनाले परीक्षा उत्तीर्ण गरेका थिए । उत्तीर्ण गरेका मध्यबाट १० हजार ५० ले दक्षिण कोरिया प्रवेश पाउने बताइएको थियो। तर कोरोनाका कारण उनीहरुले प्रवेश पाउन सकेका छैनन् । लामो समयपछि प्रतिवद्ध कामदार भने लैजान सुरु गरेको छ ।
दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । सन् २००८ मा ८१ महिलासहित दुई हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएका थिए । उक्त वर्ष ३१ हजार ५२५ जना भाषा परीक्षामा सहभागी भएका थिए ।
३०८ महिलासहित छ हजार ४०६ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । सन् २००९ मा भने भाषा परीक्षा सञ्चालन भएन । सो वर्ष अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका ९११ युवाले कोरियाको श्रम बजारमा प्रवेश गरेको इपिएस शाखाको तथ्यांकले देखाउँछ ।
सन् २०१० मा दुई हजार ३३९, २०११ मा तीन हजार ९८३, २०१२ मा छ हजार ३३२, २०१३ मा पाँच हजार ४६, २०१४ मा छ हजार २८, २०१५ मा पाँच हजार ८६६, २०१६ मा आठ हजार ७९, २०१७ मा सात हजार ८०० र सन् २०१८ मा आठ हजार ५११ ले दक्षिण कोरियामा रोजगारीको अवसर प्राप्त गरेका थिए । नेपालीहरु मेहनती र इमान्दार भएको भन्दै कोरिया रोजगारदाताको रोजाइमा पर्दै आएका छन् ।