समाचार

बाघको आक्रमणबाट बाँकेमा एकको मृत्यु

tigers

२८ कात्तिक, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४, पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए ।

प्रहरी निरीक्षक  गौतमका अनुसार, यही कात्तिक २५ गते गाई चराउन वनमा गएका गडरिया नफर्किएपछि प्रहरीमा दुई दिनपछि खोजतलासका लागि शनिबार घरपरिवारले निवेदन दिएका थिए । निवेदनका आधारमा वनमा खोजतलासका क्रममा गएराति गडरिया र एउटा गाई मृत भेटिएको हो ।

नरैनापुरको पर्यटकीयस्थल गोवद्र्धन धामदेखि करिब ५ किलोमिटर पूर्वपट्टी राष्ट्रिय वनमा गडरियाको शव फेला परेको थियो । शवको पिठ्यूँको भाग बाघले खाएको छ । घाँटी र शरीरका अन्य भागमा नङ्ग्राले कोतरेको छ । बाघले एउटा गाईसमेत मारेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक गौतमले बताए ।

बाँके निकुञ्जसँगै जोडिएको राप्तीसोनारी गाउँपालिकाको गाभर क्षेत्रमा केही महिनाअघि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएपछि बाघको त्रास फैलिएको थियो । राष्ट्रिय वनमा समेत बाघ देखिएपछि स्थानीय त्रसित भएको नरैनापुरका अगुवा सोहनलाल यादवले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस