२८ कात्तिक, धनुषा । धनुषाको जनकपुरधाममा दुई समुदायबीच भएको विवादलाई लिएर लगाइएको निषेधाज्ञाको समयलाई बढाइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले आज जनकपुरधाम उपमहानगरपालिका–२० मा लगाइएको निषेधाज्ञालाई मङ्गलबार राति १० बजेसम्मको लागि बढाउने निर्णय गरिएको जानकारी दिए ।
जनकपुरधाम–२० मा छठ पर्वमा अर्घ्य राख्नका लागि बनाउन लागेको घाटको विषयमा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो । सोही विवादले शनिबार उग्ररूप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।
प्रजिअ बाँस्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै मङ्गलबार राति १० बजेसम्म निषेधाज्ञा बढाइएको जानकारी दिए । पूर्वमा जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।