समाचार

‘झन्डै साढे दुई किलोमिटर क्षेत्रमा हिउँका ढिक्का पुगेको छ’

mustang himpahiro

२९ कात्तिक, काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकबाट आइतबार (हिजो) बिहान अप्रत्याशित रूपमा भीषण हिमपहिरो खसेपछि मानवीय क्षति रोक्न आइतबार दिनभर नै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधि सक्रिय भए ।

सुरक्षा अधिकारी घटनास्थलमा जान नसके पनि नजिकका बस्तीमा पुगेर मानवीय क्षति रोक्न दिनभर नै खटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । पहिलो काम नागरिकको जीवनरक्षा भएकाले प्रभावित क्षेत्रमा पुगेर सचेत गराउन दिनभर नै खटिएको उनले जानकारी दिए । प्रजिअ शर्मा आफैँ हिमपहिरो प्रभावित क्षेत्र आसपासका गाउँमा दिनभर नै थिए ।

“पुनः हिउँपहिरो आउन सक्ने सम्भावनालाई मध्यनजर गरी खोला आसपास हिँड्डुलमा सावधानी अपनाउन र नजिक प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित बस्न सचेत गराउने काम भयो,” उनले भने, “मानवीय क्षति नहुनु नै महत्त्वपूर्ण उपलब्ध मान्नुपर्छ ।”

उनका अनुसार केही अघि मात्रै सुरक्षा समितिको बैठकमार्फत क्षतिको विवरण संकलन गर्ने र प्रभावितलाई सुरक्षित गर्ने कुरामा जोड दिइएको छ । सोमबार भने माथिल्लो भेगमा पुगेर चौरी चरण क्षेत्रमा भएको क्षतिको विवरण लिने तयारी गरिएको छ । उनका अनुसार घटना हुनेबित्तिकै स्थानीय प्रहरी तत्कालै खटिएको र जिल्लाबाट टोली गएर सचेत गराउने काम भएको थियो ।

स्थानीयवासीका अनुसार केही चिज घोप्टिएझैँ गरी एकैचोटि हिमपहिरो खसेको थियो । पहिरोले बस्ती नभेटे पनि त्यसका हावा र हिउँका ढिक्काले बस्तीमा क्षति पुर्‍याएको छ । त्यही कारण कतिका घर र छाना उडाएको छ । खोँचमा अहिले माटोसहित हिउँको पहाड बनेर बसकेको छ । हिमपहिरो बिहान ११ः४० मिनेटमा खसेको थियो । केही हिउँका ढिक्का फेरि पनि झर्ने हो कि भन्ने आशंका कायमै छ ।

त्यहाँका वडाध्याक्ष नरप्रसाद हिराचनका अनुसार कतिपयको घरसहित खेतीबाली, चौँरी, घरमा सुकाएको विस्कुनमा समेत क्षति पु¥याएको छ । तल्लो बस्तीमा रहेको जनआदर्श अमरसिंह विद्यालयसम्मै प्रभाव परेको थियो । शिक्षक र विद्यार्थी भाग्ने क्रममा केही घाइते भएका छन् । हिमपहिरोले पहाडका रुख नै सोहोरेको दृष्य भिडियोमा देख्न सकिन्छ । कालो बादल मडारिएर आएको जस्तो गरी हिमपहिरो खसेको छ ।

प्रजिअ शर्माले भने, “उक्त हिमपहिरो धौलागिरि हिमशृंखलाबाट खसको हो । नजिक खर्क छ, च्यांग्रा तल झारिसकेको छ । तर, चौरीहरू माथि रहेकाले पहिरोमा परेको भन्ने आएको छ ।” उनले थप्दै भने, “एक खालको उल्का जस्तो गरेर आयो, यतै आउँछ कि भनेर मानिस भागे । झन्डै साढे दुई किलोमिटर क्षेत्रमा हिउँका ढिक्का पुगेको छ, घरको छाना समेत उडाएको छ ।” जलवायु परिवर्तनविज्ञ डा. ङमिन्द्र दाहाल यो जलवायु परिवर्तनको असर भएको र असामान्य घटना घटेको सुनाउँछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस