३० कात्तिक, काठमाडौं । म्यानमार सरकारले पूर्व निर्वाचित नेतृ आङसाङ सुकीसहित १६ जनालाई २०२० को चुनावमा धाँधली गरेको अभियोग लगाएको छ । नेतृ सुकी, पूर्व राष्ट्रपति युविन मिन्ट र पूर्व निर्वाचन आयुक्तसहितका व्यक्तिहरूलाई गत वर्षको नोभेम्बरमा भएको चुनावमा धाँधली गरेको र गैरकानुनी कार्य गरेको अभियो लगाएको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
सो चुनावमा सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीले प्रचण्ड बहुमत ल्याएर जितेको थियो । राज्य सञ्चालित ‘ग्लोबल न्यू लाइट अफ म्यानमार’ले १६ जनाले थुप्रै चुनावी कानुनहरू उल्लङ्घन गरेको बताएको छ । सैनिक मतदान केन्द्रहरूमा, ६० वर्षमाथिका मानिसहरूलाई अग्रिम मतदान गर्न दिने र भोट हाल्ने अधिकार नभएकाहरूको नाम मतपत्रमा राखिएको लगायतका आरोप लगाइएको छ ।
पछिल्लो मुद्दा कहिले अदालतमा जान्छ भन्ने विषयमा ग्लोबल न्यू लाइटले थप विवरण दिएको छैन । गत फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेयता शान्ति खलबलाएको आरोपमा नेतृ सुकी हिरासतमा छिन् । चुनावमा धाँधली भएकाले सत्ता कब्जा गर्नु आवश्यक भएको सेनाको दाबी छ । तर, चुनावका पर्यवेक्षकहरूले भने मतदान स्वतन्त्र र निष्पक्ष भएको बताएका छन् ।
म्यानमार स्वतन्त्र भएयता अधिकांश दशक सशस्त्र बलको नियन्त्रणमा छ । ७६ वर्षीय आङ साङ सुकी वर्षौं नजरबन्दमा बिताएकी छन् ।