५ मंसिर, काठमाडौं । बंगलादेशमा गएको करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार कोरोना भाइरसको कारण कसैको मृत्यु भएन ।
यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सन् २०२० को अप्रिल ३ पछि पहिलोपटक शनिबार मात्र कोरोनाबाट मृत्यु नभएको हो ।
यहाँ सन् २०२० को मार्च १८ मा कोभिडका कारण पहिलोपटक तीन जनाको मृत्यु भएको थियो । त्यसयता यहाँ कोभिडबाट मृत्यु नभएको दिन थिएन । गत अप्रिल ३ मा पनि यहाँ यसबाट एकजनाको ज्यान गएको थियो ।
त्यसयता हरेक दिन नागरिकको मृत्यु भएको छ । तर पछिल्ला केही समयमा भने यहाँ कोरोनाको असर केही घटेको पाइएको छ ।
अधिकारीहरुले यहाँ ठूलो संख्याका नागरिकलाई खोप लगाइएको र बंगलादेशको सरकारले अपनाएको स्वास्थ्य मापदण्डका कारण यहाँ कोरोनाको प्रभाव घट्दै गएको हो । यहाँ पछिल्लो केही महिनामा यो भाइरसको संक्रमण हुने दर र मृत्यु दर पनि घटेको पाइएको छ ।