समाचार

रामदेवलाई नेपालको सद्भावना दूतको प्रस्ताव

ramdev

५ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धनका लागि भारतीय योगगुरु रामदेव बाबालाई पर्यटन सद्भावना दूत बन्न प्रस्ताव गरेको छ । यहाँ आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन नेपाल आएका रामदेवलाई बोर्डले औपचारिक रूपमा यस्तो प्रस्ताव गरेको हो ।

बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवर्द्धनका लागि सद्भावना दूतको प्रस्ताव गरिएको बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताए । नेपालमा आध्यात्मिक तथा योग साधनाको प्रचुर सम्भावना रहेको सन्दर्भमा बोर्डले रामदेवसँग मिलेर नेपालको प्रवर्द्धनका लागि पहल गरिरहेको उनले बताए ।

“हामीले विभिन्न ढंगले नेपालको पर्यटनलाई प्रवर्द्धन गरिरहेकै छौँ । नेपाललाई मूलतः साहसिक पर्यटकीय गन्तव्यका रूपमा हेर्ने गरिएको छ । तर, नेपाल साहसिक गन्तव्यका साथै संस्कृति, प्रकृति र आध्यात्मिक पर्यटनको पनि संगम हो । यसलाई प्रवर्द्धन गर्न यो प्रयासले सहयोग पुग्ने हाम्रो विश्वास हो,” उनले भने ।

यसैबीच, योगगुरु रामदेव तथा आर्चाय बालकृष्णसँग बोर्डका कार्यकारी प्रमुख रेग्मीबीच भएको भेटवार्तामा नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धनलाई अगाडि बढाउने विषयमा छलफल भएको बोर्डले जनाएको छ । रामदेवले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश भएको भन्दै यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवद्र्धनमा आफ्नो सधैँ सकारात्मक दृष्टिकोण रहको बताए ।

“नेपाल पशुपतिनाथ, मुक्तिनाथको देश हो, यो सीता माता र भगवान् गौतमबुद्ध जन्मिएको धर्ती हो । म नेपालको यो धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक प्रचार गर्नेछु,” उनले भने । गएको बिहीबार नेपाल आएका रामदेवले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए ।

यस्तै, आइतबार पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको एकदिने योग शिविरमा पनि सहभागी भए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस