
५ मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रका नाटकहरूको भर्चुअल महोत्सवमा नेपालबाट ‘महाभोज’ प्रदर्शन हुँदै छ । साउथ एसियन थिएटर एसोसिएसनको आयोजनामा जारी पाँचदिने महोत्सवमा मण्डला थिएटर नेपालको महाभोज प्रदर्शन हुन लागेको हो ।
महोत्सवको अन्तिम दिन आज साँझ ७ः४५ बजे महोत्सवको आधिकारिक पेजबाट उक्त नाटक प्रदर्शन हुँदै छ । नाटक सुरु हुनुभन्दा आधा घण्टा अगाडि निर्देशक र कलाकारहरूको ‘सेयरिङ’ कार्यक्रम पनि रहेको जनाइएको छ ।
भारतीय लेखक मन्नु भण्डारीको नाटकलाई नेपालीमा विप्लव प्रतीकले अनुवाद गरेका हुन् । अनुप बरालले निर्देशन गरेका छन् । नेपालमा ०७६ भदौमा मञ्चन भएको यो नाटक दर्शकले अत्यधिक रुचाएका थिए । काठमाडौंमा मण्डलाकै रंगमञ्चसहित विराटनगर र छिमेकी देश भारतको दिल्ली, देहरादुनमा समेत नाटक मञ्चन गरिएको थियो ।
नाटकमा रमेश बुढाथोकी, शेखर चापागाईं, सिर्जना सुब्बा, दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, विप्लव प्रतीकलगायत कलाकारको अभिनय रहेको छ । आज भारतबाट भने साँझ ५ः३० बजे ‘अ अमर देश’ प्रदर्शन हुँदै छ ।