
६ मंसिर, काठमाडौं । तालिबान सरकारले अफगानिस्तानमा महिलाहरूलाई टेलिभिजनमा प्रसारण हुने कार्यक्रममा देखिन प्रतिबन्ध लगाउने नयाँ नियम लागु गरेको छ । महिला पत्रकारहरू र प्रस्तोताहरूलाई पनि टाउको ढाक्न आदेश दिएको छ । यद्यपि, निर्देशिकामा कस्तो प्रकारले टाउको ढाक्ने भन्ने कुरा खुलाइएको छैन । पत्रकारहरूले केही नियमहरू अस्पष्ट रहेको र त्यसलाई जसरी पनि व्याख्या गर्न सकिने बताएका छन् । धेरैले अगस्टको मध्यमा सत्ता हातमा लिएको तालिबानले क्रमिक रूपमा कडा प्रतिबन्धहरू लागु गर्दै जाने डर व्यक्त गरेका थिए ।
अमेरिका र उसका सहयोगी सेनाको बहिर्गमनपछि सत्ता नियन्त्रणमा लिने बित्तिकै तालिबानले महिलाहरूलाई विद्यालय नगई घरमै रहन आदेश दिएको थियो । तालिबानले सन् १९९० को दशकमा सत्ता सञ्चालन गर्दा पनि महिलालाई शिक्षा र काममा प्रतिबन्ध लगाएको थियो । अफगानिस्तानका टेलिभिजन च्यानलहरूका लागि जारी गरिएको नयाँ निर्देशिकामा आठवटा नियमहरू छन् । यसमा इस्लाम या शरिया कानुन एवं अफगान मूल्यमान्यता विपरितका चलचित्रहरूदेखि पुरुषका गोप्य भागहरू देखाउन नपाइनेसम्मका कुराहरू छन् ।
धर्मलाई अपमान गर्ने कुराहरू वा अफगानका लागि आपत्तिजनक कुरा भएका हास्य र मनोरञ्जनात्मक सामग्री पनि प्रसारण गर्न नपाइने नियम बनाइएको छ । विदेशी मूल्यमान्यता प्रचार गर्ने विदेशी चलचित्रहरू नपाइने बताउँदै आएको छ । अफगान टेलिभिजन च्यानलहरूमा महिलाप्रधान विदेशी टेलिश्रृङ्खला प्रसारण हुँदै आएका थिए ।
नयाँ नियम अनपेक्षित भएको अफगानिस्तानका पत्रकारहरूको एक संस्थाका सदस्य हुजातुल्लाह मुजाद्देदीले बताए । नयाँ नियमहरू व्यावहारिक नभएको र ती लागु भएका टेलिभिजन च्यानलहरू बन्द हुन सक्ने उनको भनाइ छ । महिलाहरूलाई विद्यालयबाट बाहिरै राख्ने तालिबानको निर्णयले अफगानिस्तानलाई आधा जनसंख्या शिक्षाबाट वञ्चित भएको विश्वको एकमात्र देश बनाएको छ ।
राजधानी काबुलका नगरप्रमुखले नगरपालिकाका महिला कर्मचारीलाई आफ्नो काम पुरुषले गर्न नसक्ने भए मात्र कार्यालय आउन नत्र घरमै बस्न आदेश दिएका थिए । तालिबानले महिलामाथि शिक्षा र रोजगारीमा लगाइएको प्रतिबन्ध अस्थायी भएको र त्यो विद्यालय एवं कार्यक्षेत्रहरू उनीहरूको लागि सुरक्षित बनाउनका लागि मात्रै लागु गरिएको दाबी गर्दै आएको छ । बीबीसी