६ मंसिर, काठमाडौं । अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रिय राजनीति पुष्पकमल दाहाल ‘प्रचण्ड’कै दृष्टिकोणमा चलेको बताएका छन् । आज भरतपुरमा भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘समृद्ध भरतपुरका लागि विकास बहस’ कार्यक्रममा बोल्दै उनले समाजवादको विकास प्रचण्डले नै गर्ने दाबी गरे ।
“गाली गर्दा पनि आलोचना गर्दा पनि आँखिर राष्ट्रिय राजनीति प्रचण्डकै दृष्टिकोणमा चलिरहेको छ,” शर्माले भने । नेतृत्व निर्माणको थलो चितवन भएको भन्दै उनले प्रचण्डजस्तो नेतृत्व जन्माउनमा चितवनको महत्वपूर्ण योगदान रहेको बताए ।
उनले भरतपुर महानगरको विकासले आफूलाई प्रेरित गरेकोसमेत बताए । देशका अन्य महानगरपालिकाले पनि भरतपुर महानगरबाट केही सिक्नुपर्ने उनको भनाइ छ । “अन्य नगरपालिकालाई ईर्ष्या गर्ने लायक भरतपुर बनेको छ,” उनले भने ।
आफू बोलेरभन्दा काम गरेर देखाउने मन्त्री भएको भन्दै उनले भरतपुरका निर्माणधीन गौरवका आयोजनालाई तीव्रता दिने बताए । “रंगशाला सानन, प्रतिष्ठाको विषय बनेको छ । यसलाई पूर्णता दिन छलफल भइरहेको छ,” उनले भने, “भरतपुर विकास हुँदा मेचीदेखि महाकालीलाई विकास गर्न प्रेरित गर्छ ।”
भरतपुर विमानस्थल विस्तार, नारायणी तटबन्द लगायतका अन्य आयोजनालाई पूर्णता दिइने उनकाे भनाइ छ ।