
६ मंसिर, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीको आगामी महाधिवशेनका विषयमा छलफल गर्न खोज्दा पार्टीभित्र कसैले पनि रुची नदेखाएको गुनासो गरेका छन् ।
सोमबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले उपाध्यक्षको हैसियतले आफूले १०औँ महाधिवेशनको प्रक्रियामा विषयमा अध्यक्ष केपी ओली र स्थायी कमिटी बैठकमा छलफल गर्न चाहेपनि रुची नदेखाएको गुनासो गरेका हुन् ।
यसअघि महाधिवेशनको एक दुई महिनाअघि नै उम्मेदवारका विषयमा छलफल हुने भएपनि यसपटक त्यसो हुन नसकेकाले लक्ष्य र उदेश्य स्पष्ट पारेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उनले बताए ।
उनले राष्ट्र र एमालेलाई बलियो बनाउँदै आगामी चुनावमा विजयी गराउन आफ्नो भूमिका हुने जिकिर गरे । यसपटक पार्टीले नै समूहगत रूपमा उम्मेदवारी नदिने निर्णय गरेकाले आफूले एक्लै उम्मेदवारी दिएको भन्दै रावलले पार्टी रुपान्तरणमा लाग्ने सवैले साथ दिने दाबी गरे ।
एमालेको स्थायी कमिटी बैठकका लागी रावल लगायतका नेताहरू तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेका थिए । तर, एमाले अध्यक्ष केपी ओली बिरामी भएका कारण बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।