
७ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पार्टीको महाधिवेशन झापामा गएर गर्न चुनौती दिएका छन् । मंगलबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले माओवादी केनद्रको आगामी महाधिवेशन झापामा गएर गर्न चुनौती दिएका हुन् ।
“पछिल्लोपल्ट प्रचण्ड चितवन चुनाव गर्न जानुभयो । रोल्पातिर महाधिवेशन गरौँ भने पहिले उहाँले लडेको ठाउँ, सिरहातिर लडौँ भने अलिक पछि लडेको ठाउँ, काठमाडौंमा गर्दा उहाँले चुनाव लडेको ठाउँ । हामीले त हाम्रो पार्टीको महाधिवेशन गरिरहेका छौँ,” उनले भने, “म उहाँलाई आह्वान गर्न चाहन्छु । झापा आएर गर्नुस् न महाधिवेशन । सबै जिल्ला खाली छ त । ७७ मा त हामीले सिध्याएको छैन । कोही चुनाव लडेको छ भने क्षेत्रै उसको हुने र अरूले पाइलै टेक्न नहुने ?”
सोमबार चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रचण्डले एमालेको महाधिवेशनमा छलफल माओवादी र प्रचण्डलाई सिध्याउन चितवनमा निर्वाचन गर्न लागिएको टिप्पणी गरेका थिए । “प्रचण्डलाई सिध्याउने अधिवेशन हो त्यो । त्यहाँ के को छलफल हुनु । छलफल हुने पनि होइन, केही पनि होइन केपी ओलीलाई नेता भन्ने हिँड्ने अधिवेशन हो । त्यस्तो नि अधिवेशन हुन्छ त ?,” प्रचण्डले भनेका थिए, “चितवनमा ल्याउनुको मक्सद माओवादी सिध्याउनु हो । तर, यो विषयमा केपीजीलाई धन्यवाद भनेको छु । चितवनमा ल्याइदिनुभो, यहाँका जनतालाई फाइदा हुने भयो । यहाँका व्यवसायीले अलिकति भए पनि नाफा कमाउने भए ।”
ओलीले नेकपा मालेले चितवनमा नै महाधिवेशन गरेको भोलिपल्टै आफूलाई सिध्याउन महाधिवेशन गरिएको भनेर सीपी मैनालीतिर भनिएको हो कि भन्दै कटाक्ष पनि गरे । “हामीलाई नै भनिएको भए मेरो निर्वाचन क्षेत्रमा आएर गर्नुस् न । दमकमा गरे भो,” ओलीको भनाइ छ ।