
९ मंसिर, काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले चितवनमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताएका हुन् ।
उनले भन्नुभयो, “१०औँ महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ । यो सम्भव छ ।” नेता थापाले स्थानीय तहमा सहमतिमा नै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभाव पर्ने बताए । आफू कुन पदमा उमेदवारी दिने भन्ने विषयमा टुंगो नलागेको भन्दै उनले छलफलबाट पदको टुंगो लाग्ने जानकारी दिए । उनले भने, “मेरो उमेदवारी केमा भन्ने टुंगो लागेको छैन । छलफलबाट निस्कर्ष निकाल्छौँ ।”
अपग्रेड हुने चाहना छ : तामाङ
नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले महाधिवेशनले सर्वसम्मत नेतृत्व छनोट गर्ने बताएका छन् । चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले अन्तिम समयसम्म सहमतिको प्रयास हुने र सहमतिमा नै नेतृत्व चयन हुने बताए । उनले भने, “साथीहरूले आन्तरिक तयारी सुरु गर्नुभएको छ । आकांक्षा राख्न पाइन्छ ।” फरक प्रसंगमा बोल्दै उनले आफू सचिवको उमेदवार रहेको बताए । उनले भने, “म काममा विश्वास राख्छु । कायकर्ताले दिएको जिम्मेवारीमा बस्छु । तर, अपग्रेड हुने चाहना छ ।”
नेताहरूलाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा जोड
नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले १०औँ महाधिवेशनले सबैलाई एक ठाउँमा बनाएर लैजाने बताए । पत्रकारहरूसँग कुराकानी गर्दै उनले माओवदीबाट आएका र १० बुँदे सहमतिबाट आएका नेताहरूलाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, “अन्यमा समस्या छैन । १० बुँदे सहमतिपछि आएका नेतामा केही समस्या देखिएको हो । उहाँहरूलाई जिम्मेवारी दिएर व्यवस्थापन गर्न सकिन्छ ।” महाधिवेशनले केपी शर्मा ओलीकै नेतृत्वमा एमालेलाई अघि बढाउने भन्दै उनले अन्य विषयमा छलफलबाट समाधान हुने विश्वास व्यक्त गरे । उनले भने, “अहिलेको महाधिवेशनले नयाँ र युवा पुस्ताको पनि व्यवस्थापन गर्न जरुरी छ ।”
आफू सचिव पदको उम्मेदवार रहेको भन्दै उनले जिम्मेवारी दिँदा पुराना र नयाँलाई मिलाएर अघि बढ्नुपर्ने बताए । उनले भने, “एमालेको पदाधिकारीको प्रवेशविन्दु नै सचिव हो । यसमा नयाँ र युवा पुस्ताको पनि सहभागिता आवश्यक छ ।”