समाचार

एमाले महाधिवेशनमा कमल थापाले गरे ओलीको प्रशंसा

Kamal thapa

१० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको मुक्त कण्ठले प्रशंसा गरेका छन् । चितवनमा आजबाट सुरु भएको एमालेको १० औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले ओली राष्ट्रवादी र साहासिक नेता भएको भन्दै प्रशंसा गरेका हुन् ।

थापाले दोस्रोपटक सरकारमा गएर ओलीले दुईवटा महत्त्वपूर्ण उपलव्धी देश र जनतालाई दिन सकेको थापाको दाबी थियो । ओली नेतृत्त्वको सरकारले मधेशमा देखा परेको पृथकतावादी आन्दोलन र विप्लबलाई शान्तिपूर्ण काममा ल्याउने काम गर्नु महत्त्वपूर्ण उपलव्धी भएको उनको तर्क थियो । साथै लिम्पियाधुरासमेत समेटेर नेपालले आफ्नो सीमाको रक्षाका लागि प्रतिवद्धता व्यक्त गर्नु र चुच्चे नक्सा नेपालको संविधानमा संस्थागत गर्नु महत्त्वपूर्ण उपलव्धी भएको उनको भनाइ थियो ।

नेता थापाले केपी ओली जस्तो दृढ अडान र राष्ट्रवादी सोच भएको नेता पाउनु एमालेका लागि उपलव्धी भएको भन्दै यो महाधिवशनले के सन्देश दिन्छ भन्ने देश विदेशबाट उत्सुकता भएको उल्लेख गरे । एमाले कम्युनिष्ट आन्दोलनको प्रमुख शक्ति भएको र अहिले देशको ठूलो राजनीतिक दल भएकाले पनि देश संकटको भुमरीमा परेका बेला महाधिवेशनले उपलव्धी दिनुपर्ने बताए ।

“लोकतन्त्रको आवरणमा देश सर्वसत्तावादतर्फ उन्मुख हुन गएको पाइन्छ । योजनावद्ध र संगठित रुपमा गरिँदै आएको धर्म परिवर्तनले हाम्रो पहिचानलाई समाप्त पारिँदैछ, अहिले बाह्यि शक्तिहरुको चलखेल तिव्र रुपमा बढेको छ अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक भूमी बन्दैछ । देशले तपाईंहरुबाट साहासिक निर्णयको अपेक्षा गरेको छ,” उनले भने ।

नेता थापाले संविधान जारी हुँदा भारतले नाकाबन्दी गरेको र त्यसवेला आफूहरु पनि ओली नेतृत्त्वको सरकारमा भएको भन्दै ओलीको सुझवुझ र मागर्दशनमा रहेर राष्ट्रिय स्वभिमानमा एक इञ्च पनि आँच आउन नदिएको बताए । उनले मधेशमा बलिरहेको आन्दोलनको आगो मन्थर बनाउन र ओलीको मार्गदर्शनमा रहेर चीनसँग रेल, तेल र विजुलीको दीर्घकालीन आर्थिक खाका निर्माण गर्न सफल भएको दाबी गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस