समाचार

अरूको पार्टीतिर धेरै आँखा लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउन लागौँ : देउवा

deuba

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरू पार्टीको चिन्ता नगर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । मंगलबार सुवर्ण शमशेर अध्ययन प्रतिष्ठान र गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अरूको पार्टीको चिन्ता नगर्न आग्रह गरेका हुन् ।

उनले विगतका दिनमा पार्टीभित्रै अन्तरघात भएको स्मरण गर्दै अब एकतावद्ध भएर पार्टीलाई अघि बढाउनु पर्ने बताए । प्रधानमन्त्री देउवाले अरूको पार्टीमा आँखा लगाउन छोडेर आफ्नो पार्टीलाई अरूको भन्दा ठुलो पार्टी बनाउनमा जोड दिनुपर्ने बताए ।

“पार्टीलाई भोलिका दिनमा अगाडि बढाउनु छ । हामी सबै एक भएर जानुछ, एकजुट हुनुछ । तपाईहरूलाई थाहै छ, सत्य कुरा लुक्दैन । पार्टी भित्रै अन्तरघात हुनेदेखि लिएर अनेक भए । आगामी दिनमा यो पार्टीलाई एकतावद्ध गरेर राम्रोसँग जाने पार्टीको निर्णयलाई मानेर अघि बढ्नुपर्छ । हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरूको पार्टी कस्तो छ ? आँखा धेरै लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ । अरूको पार्टीको चिन्ता उनीहरूलाई गर्न दिनुस् न किन हामी गर्ने ? आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाउँ । उहाँहरूको भन्दा ठुलो पार्टी बनाउँ,” उनले भने ।

देउवाले चाँडो गरिएको निर्णयले पछुताउनुपर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताए । नेतृत्व र निर्णय गर्ने अधिकार सबैको आउने भन्दै उनले विश्वप्रकाश शर्मा र प्रकाशशरण महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गरे । देउवाले बुढापाकाहरूलाई अर्ति दिनुभन्दा पनि बुढापाकाबाट अर्ती लिन सुझाव दिए । “बुढापालाई अर्ती दिने होइन क्या, बुढापाकाबाट अर्ती लिनुपर्छ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस